अपराध

महिलालाई ओमन पुर्‍याएर वेश्यावृत्तिमा लगाएको आरोपमा पाल्पा तिनाउका राना पक्राउ

नवलपुर टुडे
२०८० चैत्र १२ | मध्यान्ह ०६:१२ बजे

काठमाडौ, चैत १२ । ओमनमा पुर्‍याएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका–५ का विष्णुबहादुर राना रहेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानबाट पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको खुलेको छ । पीडित महिलालाई साधारण लेखपढ गर्न मात्र आउँछ । उनलाई ओमनमा घरमा बच्चा हेर्ने काममा मासिक ८० देखि ९० हजार रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएर अभियुक्त विष्णुबहादुर रानाले भिजिट भिसामा ओमन पठाएका थिए ।

विष्णुबहादुर रानाले ओमनमा आकर्षक तलब हुने र घरेलु काममा पठाइदिने प्रलोभन देखाएर पीडितलाई गएको भदौ २६ गते काठमाडौंबाट भिजिट भिसामा ओमनको मस्कट पुर्‍याएका थिए । ओमन पुगिसकेपछि रानाका साथीहरूले ती महिलालाई रिसिभ गरेर एजेन्ट अफिसमा लगेका थिए । त्यहाँ लगेर उनको मोबाइल र पासपोर्ट जफत गर्दै अन्य कागजातहरू च्यात्न लगाएको खुलेको छ । त्यहाँ नेपालसहित अन्य देशका महिलाहरूसमेत रहेको बुझिन आएको ब्युरोले जनाएको छ ।

पीडित महिलालाई ३६ दिनसम्म कोठामै बन्धक बनाएर यौनशोषणमा लगाएको, नमानेमा कुटपिट गर्ने गरेको, खाना र पानी नदिने तथा एसी चिसो र तातो बनाएर शारीरिक यातना समेत दिने गरेको खुल्न आएको ब्युरोको अनुसन्धानबाट खुलेको छ । पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले साढे दुई लाख रुपैयाँ मागेका थिए । त्यसपछि पीडितका श्रीमान्‌को पहलमा उनीहरूले मागेको रकम तिरिएको थियो ।

उनी गएको कार्तिक २ गते नेपाल फर्कन सफल भएकी थिइन् । यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । त्यसपछि उनले नेपाल आएर विष्णुबहादुर रानाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा उजुरी हालेकी थिइन् । तर, अभियुक्त राना फरार थिए ।

खोजतलासका क्रममा गएको शुक्रबार ब्युरोबाट खटिएको टोलीले उनलाई बालाजुस्थित यरीयाबाट पक्राउ गरेको हो । उनीमाथि काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दिन पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

कमेन्टहरु