अपराध

सप्तरीमा बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

नवलपुर टुडे
२०८० चैत्र ७ | मध्यान्ह ०५:१२ बजे

राजविराज, चैत ७ । सप्तरीमा एक युवकले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका छन् । जिल्लाको सप्तकोशी नगरपालिका–३ नयाँवस्ती (मुसहरी टोल) का २२ वर्षीय लालदेव सदाले बञ्चरो प्रहार गरी आफ्नै बुबा ४५ वर्षीय हिराइ सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

लालदेव हिजो मात्रै प्रहरी हिरासतबाट छुटेर घर आएका थिए । सोमबार दुईजना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेका उनलाई हिजो मंगलबार छाडेका थिए । स्थानीयका अनुसार करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको जनाइएको छ । 

बुबा हिराइ र ठूलोबुबा ५५ वर्षीय दशन सदाले सम्झाउन खोज्दा आवेशमा आएर लालदेवले बुबालाई बञ्चरोले प्रहार गरेपछि ठूलो बुबालाई पनि आक्रमण गरेका थिए । प्रहरीका अनुसार घाँटीमा बञ्चरो प्रहार गर्दा बुबा हिराइको घटनास्थलमै मृत्यु भएको हो । ठूलो बुबा दशनको टाउको तथा शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । उनको सप्तकोशी नगरपालिकाको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

लालदेवलाई प्रहरीले बञ्चरोसहित पक्राउ गरेर थप अनुसन्धान सुरू गरेको जनाएको छ । 

कमेन्टहरु