मौसम

भोलि चट्याङसहित हल्का वर्षाको सम्भावना

नवलपुर टुडे
२०८० चैत्र ५ | बिहान ०६:१२ बजे

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभाले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

भोलि (मंगलबार) भने देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । “मंगलबार र बुधबार देशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् सरोज पुडाशैनीले भने, “कुनै नयाँ मौसमी प्रणाली विकास भएर होइन पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावकै कारण पानी पर्नेछ ।” 

 

कमेन्टहरु