सुन तस्करी प्रकरण: पूर्वआईजिपीद्वय सिंह र खनाललाई राज्यको निगरानीमा राख्न सिफारिस


काठमाडौँ । सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित आयोगले दुई पूर्वप्रहरी प्रमुखलाई निगरानीमा राख्न सिफारिस गरेको छ। ६१ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्ली आचार्य संयोजकत्वको छानबिन समितिले पूर्वमहानिरीक्षक धिरजप्रताप सिंह र सर्वेन्द्र खनाललाई सुन तस्करहरुसँग निरन्तर सम्पर्कमा रहेको ठहर गर्दै निगरानीमा राख्न सुझाव दिएको हो।
गृह मन्त्रालय स्रोतले भन्यो, ‘दुई पूर्वमहानिरीक्षक सिंह र खनाललाई निगरानीमा राख्न सिफारिस गरेको छ।’ त्यस्तै, छानबिन समितिले एसपी सञ्जय सिंह थापालाई निगरानीमा राख्न भनेको छ।
नुवाकोट प्रहरी प्रमुख रहेका थापालाई अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोपमा जिम्मेवारीबाट हटाएर प्रहरी मुख्यालय तानिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मै रहेर ६१ किलो छानबिन समितिमा संलग्न डिएसपी रुगम कुँवरलाई पनि निगरानीमा राख्न सिफारिस गरेको स्रोतको दाबी छ। उनलाई पनि जिम्मेवारीबाट हटाएर मुख्यालय तानिएको छ। गृह मन्त्रालय स्रोतका अनुसार बीथ ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई पनि निगरानीमा राख्न भनेको छ।
कुनै बेला नायब सुब्बाका रुपमा काम गरेका भण्डारीलाई सुन तस्करीमा संलग्नहरुसँग टेलिफोन सम्पर्कमा रहेको देखिएकाले निगरानीमा राख्न भनिएको छ।
छानबिन समितिले पाँच नेपाली, ९ चिनियाँ र एक भारतीय नागरिकमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेको छ। समितिले माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र विज्ञ जिवन चलाउने, सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेमाथि अनुसन्धान गर्न भनेको छ। छानबिन समितिले सिआईबी प्रमुख एआईजी किरण बज्राचार्य र डिएसपी दुर्गा दाहालमाथि पनि अनुसन्धान गर्न भनेको छ। छानबिन समितिले होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन भनेको छ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६१ केजी सुन बरामद भएको थियो। त्यस्तै, २०७९ पुस १७ गते विमानस्थल भन्सार कार्यालयले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी तस्करीको सुन बरामदपछि सरकारले गत असोज १४ आचार्यको संयोजकत्वमा आयोग गठन गरेको थियो। आयोगमा पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य थिए।























