विराटनगरमा धारिलो हतियार प्रहार गरी स्टाफ नर्सको हत्या

नवलपुर टुडे
२०८० चैत्र २ | मध्यान्ह ०३:१२ बजे

विराटनगर, चैत २ । मोरङको विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । विराटनगर महानगरपालिका – ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर – ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर उनको शव फेला परेको डीएसपी दाहालले बताए ।
उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको चोट देखिन्छ ।
हत्यामा संलग्नको खोजीकार्य भइरहेको डीएसपी दाहालले बताए ।























