प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत

नवलपुर टुडे
२०८० फाल्गुन ३० | मध्यान्ह ०४:११ बजे

काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्थ्यो । तर प्रधानमन्त्री प्रचण्डलाई संसद्मा तत्काल कुल उपस्थित सङ्ख्यामध्ये १५७ जनाले मत दिए । तत्काल उपस्थित सङ्ख्या २६८ मध्ये उनले ५८.५८ प्रतिशत मत पाएका हुन् ।
उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र दुई सांसदले समेत मत दिएका थिए । प्रमुख विपक्षी दल कांग्रेस, लोसपा, जपा, नेमकिपाले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय जनमोर्चाले मत प्रक्रियामा भाग लिएनन् ।






















