उपनिर्वाचनका लागि स्वर्गीय नेता सुवास नेम्वाङका छोरा सुहाङसहित एमालेका ६ जनाले दिए निवेदन


इलाम, फागुन २७ । इलामको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि नेकपा एमालेका ६ जनाले निवेदन दिएका छन् ।
एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आज साँझसम्ममा निवेदन दिन समयसीमा तोकेको थियो । हालसम्म ६ जनाले निवेदन दिएको समितिका सचिव उमेश गुरुङले जानकारी दिए । उनका अनुसार निवेदन दिनेहरुमा स्वर्गीय नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।
सुवेदी जिल्ला उपसचिव हुन् । खनाल जिल्ला सचिवालय सदस्य तथा माई नगरपालिका वडा नं ७ का वडाध्यक्ष तथा एमालेको इलाम क्षेत्र नं २ नम्बर सभापति पनि हुन् । देवी क्षेत्री दुलाल एमालेको जिल्ला सचिवालय सदस्य र रिपल राई कोशी प्रदेश समिति सदस्य हुन् । नरेन्द्र भट्टराई भने नेकपाका पूर्व केन्द्रीय सदस्य बनेका थिए ।
उम्मेदवार छनोट समितिका सचिव गुरुङले आज बेलुकासम्म निवेदन पर्खिने र भोलि बैठक बसेर सर्वसम्मत बनाउने प्रयास गर्ने बताए । गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तोकिएको छ ।






















