कांग्रेस महासमिति बैठकमा महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने


काठमाडौं । नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएकाहरूको हकमा यही फागुन ७ देखि १० गतेका लागि आयोजित महासमिति बैठकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रितरूपमा सहभागी गराउने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको बैठकले महासमिति सदस्यको टुङ्गो लागिनसकेका बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौँ क्षेत्र नं ५, दाङ क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बागलुङ क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ जिल्ला तथा निर्वाचन क्षेत्रका हकमा सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसको १४औँ महाधिवेशनपश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्यचिव पौडेलले बताए ।






















