Opens in a new tab

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

अशोक यादव

315Shares

सारांश

  • रौतहटको डुमरियास्थित श्री माध्यमिक विद्यालयमा दीपावली तथा छठ पर्वको अवसरमा सामान्यज्ञान र ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको छ।
  • डुमरिया यूथ क्लबको आयोजना तथा ११ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा माध्यमिक विद्यालय गरुडाले प्रथम स्थान हासिल गरेको छ।
  • कार्यक्रमका वक्ताहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि जिल्लाका सबै विद्यालयहरूमा यस्ता रचनात्मक कार्यक्रमहरू अनिवार्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
dida bag ad

कार्तिक २०। हिन्दु धर्मावलम्बीहरूको महान् चाड शुभदीपावली तथा छठ पर्वको अवसरमा रौतहटको डुमरियास्थित श्री माध्यमिक विद्यालयमा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको छ।

डुमरिया यूथ क्लबको आयोजनामा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका सांसद प्रत्यासी रामकृपाल यादवले रिबन काटेर उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै यादवले संसारकै सबैभन्दा सम्मानित पेसा शिक्षण पेसा रहेको बताउनुभयो। उहाँले रौतहटको शैक्षिक सुधारका लागि एउटा विद्यालयमा मात्र यस्ता कार्यक्रम सञ्चालन गरेर पर्याप्त नहुने भन्दै जिल्लाभरिका सबै नगरपालिकाका विद्यालयमा यस्ता कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

आफ्नो निर्वाचन क्षेत्रमा युवाहरूले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेकोमा आफू निकै हर्षित भएको उहाँले बताउनुभयो।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ९ का वडाध्यक्ष रूपेश यादवले गर्नुभएको थियो भने श्री माध्यमिक विद्यालय डुमरियाले सहकार्य गरेको थियो।

प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा माध्यमिक विद्यालय गरुडाले प्रथम स्थान हासिल गरेको छ भने माध्यमिक विद्यालय भषेडवाले दोस्रो र जानकी एकेडेमीले तेस्रो स्थान प्राप्त गरेका छन्।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ प्रहरी सहायक निरीक्षक जयप्रकाश शाह, सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारका प्रहरी सहायक निरीक्षक विश्वजित ख्वात, गम्भीर यादव, निरज यादव, शंकर यादव लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी, किसान तथा सयौँ स्थानीयवासीको सहभागिता रहेको आयोजकले जनाएको छ।

यस्ता शैक्षिक तथा खेलकुदसम्बन्धी कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, प्रतिभा र खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ