अपराध

मोरङको बुढीगंगामा बोक्सीको आरोप लगाई मलमूत्र खुवाउने एक महिला पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन ४ | मध्यान्ह ०४:११ बजे

मोरङ, फागुन ४ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाई यातना दिएर मलमूत्र खुवाइएको आरोपमा एक महिला पक्राउ परेकी छन् । बिहीबार दिउँसो ५५ वर्षीया महिलालाई बोक्सी आरोपमा मलमूत्र खुवाएका बूढीगंगा–७ की ५० वर्षीया पारो माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी गाउँकी धामी हुन् । मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । बिहीबार दिउँसो २ बजेतिर भएको घटनाको बारेमा प्रहरीले साँझ मात्रै जानकारी पाएको थियो ।

हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरेकी थिइन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ । पीडित महिलाले बिहीबार साँझ हरैचामा रहेको प्रहरी कार्यालय पुगेर जाहेरी दिएलगत्तै माझीलाई पक्राउ गरेको डीएसपी दाहालले बताए ।

त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गरेकी थिइन् । तर, माझीले आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै उनीमाथि अमानवीय व्यवहार गरेकी हुन् ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

कमेन्टहरु