छोरीसँग एउटै कोठामा भेटेपछि बुबा र काकाले टाउको गिँडेर गरेका थिए भण्डारीको बिभत्स हत्या


दोलखा, माघ २९ । गत पुस १६ गते मृत फेला परेका दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारीको हत्या उनकै प्रेमिकाको परिवारले गरेको खुलेको छ ।
प्रेमिका १६ वर्षीया दलित किशोरी र भण्डारी
गाउँकै एउटा मेलामा चिनजान भएर प्रेम सम्बन्धमा बसेका थिए । भण्डारीलाई आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि किशोरीका बुबा पुष्कर नेपाली, काका ईश्वर दर्जी र नेपाली सेनामा कार्यरत दाजु विशाल नेपालीले धारिलो हतियार प्रहार गरी बिभत्स हत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।
गत पुस ११ गते हत्या गरिएको भण्डारीको शव पुस १६ गते बजिनीको खोल्सामा भेटिएको थियो । मृतकको टाउको छुट्टाइएको, नाक काटेको, औंला छिनेको अवस्थामा शव फेला परेको थियो । शव भेटिएपछि दोलखा प्रहरीले वागमती प्रदेश प्रहरी र सीआईबीको सहयोगमा अनुसन्धान सुरू गरेको थियो । सो क्रममा माघको पहिलो साता बालिकाको बुबा, काका, दाजुलगायतलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।
भण्डारीलाई छोरीसँग एउटै कोठामा भेटेपछि बुबालगायतले उनलाई घरबाट निकालेर छोरीलाई घरभित्रै चुक्कुल लगाई थुनेका थिए । सो क्रममा मृतक भण्डारीले प्रेमिकाको बुबा पुष्कर र काका ईश्वरसँग विवाद गरेपछि काका ईश्वरले घरबाट धारिलो हतियार ल्याई उनीमाथि प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
धारिलो हतियारको प्रहारबाट घाइते भएका भण्डारीलाई केही पर धारामा लगेर किशोरीका बुबा पुष्कर र ईश्वरले टाउको गिँडेका थिए । त्यसरी भण्डारीको बीभत्स हत्या गरेपछि किशोरीका बुबा र काकाले किशोरीको दाजु विशालको समेत सहयोगमा शव नजिकको बजिनीको खोल्सामा फालिदिएका थिए ।
टाउको गिँडेपछि किशोरीका बुबा पुष्करले मृतकको शरीर बोकेको र काका ईश्वरले टाउको बोकेर विशालसमेतको सहयोगमा बजिनीको खोल्सामा लगेर फालेका थिए । आइतबार दोलखा प्रहरीले हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । उनीहरूलाई सोमबार अदालतमा पेस गर्ने तयारी गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।























