अपराध

दाङमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

जगत ठाडा मगर
२०८० माघ २८ | मध्यान्ह ०२:१० बजे

दाङ, माघ २८ । दाङमा बलात्कार आरोपमा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका-१२ की १६ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पीडित परिवारको जाहेरीपछि प्रहरीले १७ वर्षीया किशोरलाई पक्राउ गरेको हो ।

गत असारमा किशोरले किशोरीलाई हापुरस्थित खजुरे सामुदायिक वनमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

माघ १६ गतेदेखि किशोरी बेपत्ता थिइन् । पछि किशोरले नै विवाह गर्ने भन्दै किशोरीलाई घरमा लगेको खुलेको थियो । प्रहरीका अनुसार माघ २० गते पनि आरोपितले किशोरीमाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

उनीहरू दुबै जना एउटै विद्यालयको कक्षा ८ मा र कक्षा ११ मा अध्ययन गर्छन् ।

प्रहरीले किशोरमाथि जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा (२) बमोजिम १८ वर्ष मुनिको किशोरीसँग मञ्जुरीमै सम्बन्ध राखे पनि बलात्कार ठहरिने कानुनी व्यवस्था छ ।

कमेन्टहरु