नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै चार लाख ठगेर फरार भएका थापा पक्राउ

जगत ठाडा मगर
२०८० माघ २८ | मध्यान्ह ०१:१० बजे

बाँके, माघ २८ । बाँके प्रहरीले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापा छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपैयाँ ठगेर थापा फरार भएका थिए । थापालाई सुर्खेतको वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको हो
थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए । साथै अन्य व्यक्तिलाई समेत भर्ती गराइदिन्छु भनी थापाले रकम लिई ठगी गरेको भएमा यथाशीघ्र प्रहरीमा सम्पर्क राख्न डिएसपी तिवारीले अनुरोध गरेका छन् ।























