ललितपुरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु, चार तलाबाट हाम फालेकी आमाको अवस्था गम्भीर


ललितपुर, माघ २८ । ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित ओचुहाइटको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको छ ।
शनिबार अपराह्न अचेत अवस्थामा फेला परेका ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएका हुन् ।
अपराह्न साढे ४ बजे उनीहरूकी आमा ३६ वर्षीया रबिना महर्जनले घरको चौथो तलबाट हाम फालेकी थिइन् । उनी हाम फालेपछि स्थानीयले उद्धार गरी किस्ट अस्पताल पुर्याएका थिए । त्यस घटनापछि घरभित्र पुग्दा कोठाभित्र दुई जना बच्चाहरू पनि अचेत अवस्थामा फेला परेका थिए ।
बच्चाहरुलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । बच्चाहरूको मृत्यु के कारणले भएको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । रबिनाको अवस्था गम्भीर रहेको छ ।
उनका श्रीमान हाल उपचारमा संलग्न छन् । घटना हुँदा भने उनी घरमा थिएनन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । बच्चाहरूको मृत्यु कसरी भएको भन्नेबारे पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।






















