अपराध

अपहरण गरेर ७ लाख फिरौती माग, दुई जना पक्राउ अन्यको खोजी

नवलपुर टुडे
२०८० माघ २५ | मध्यान्ह १२:१० बजे

काठमाडौं, माघ २५ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपहरण कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्रबहादुर तामाङ छन् । 

उनीहरूले गत सोमबार ककनी गाउँपालिका-४ रानीपौवाका ५९ वर्षीय सूर्यबहादुर तामाङलाई अपहरण गरेका थिए । सूर्यबहादुर पेशाले गाडी चालक हुन् । त्यस दिन राती उनलाई १० बजेतिर फोन आयो । फोनमा बिरामीको उपचार गराउन अस्पताल लैजान पर्‍यो भनिएको थियो । अस्पताल लैजानुपर्‍यो भन्दै फोन आएपछि उनी आफ्नो बा ६ ज ७७७९ नम्बरको सुजुकी अल्टो गाडी लिएर निस्किएका थिए ।

ककनी-४ काउलेदेखि ककनी जाने सडकबीच एकान्त स्थानमा पुग्दा अचानक दुई जना अपरिचित व्यक्तिले बाटो छेकेर सूर्यबहादुरको गाडी रोके र गाडीभित्र छिरे । त्यसपछि सूर्यबहादुरलाई गाडीभित्रै आँखामा पट्टी बाँधेर बन्धक बनाएको डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । दुई जनाले उनलाई ज्यान मार्ने धम्की समेत दिएको थियो ।

उनीहरूले सूर्यबहादुरसँग फिरौती मागेका थिए । पहिले ठूलो रकम माग गरेकोमा पछि ७ लाखमा छाडिदिने सहमती भएको थियो । फिरौती काठमाडौंमा दिने भन्ने सहमती भएको थियो । सूर्यबहादुरका आफन्तले ७ लाख जुगाड गरेसँगै प्रहरीलाई पनि खबर गरेको थियो । 

नुवाकोट प्रहरीले प्रहरी वृत्त बालाजुसँग सहयोग लिएर मंगलबार फिरौती लिन आएका दुई जनालाई पक्राउ गरेको हो । त्यसपछि बन्धक बनाएको ठाउँमा पक्राउ परेकै व्यक्तिहरूलाई पैसा पायौं भन्ने सन्देश पठाउन लगाएर सूर्यबहादुरलाई छाड्न लगाइएको प्रहरीले जानकारी दिए ।

सूर्यबहादुरलाई छाडेलगत्तै अपहरणकारी भागेका थिए । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ । यसमा सूर्यबहादुरलाई बोलाउने व्यक्तिको पनि संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

कमेन्टहरु