रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलामाथि कुटपिट गरी घर निकाला


रौतहट, माघ २२ । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाइ कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ ।
प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका – ७ नरकटिया टोलकी ३० वर्षीया महिलालाइ पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जाँदा कुटपिट गरि घरमा प्रवेश गर्नबाट निषेध गर्दा पिडितले उजुरी दिएपछि घटना बाहिरिएको हो ।
२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीया किरण देवीले तेस्रो पटक गर्भवती भएपछि लोग्नेले गर्भपतन गरे मात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गर्ने गरेको पिडित महिलाले बताए ।
सन्चारकर्मीसँग कुरा गर्दै पिडितले दुइ पटक गर्भपतन गरिसकेको र तेस्रो पटक २ महिना गर्भ रहेको जानकारी गराउँदै कानुनी रुपमा पत्नी बनाउन गर्भपतन गर्नुपर्ने अडान लोग्नेको रहेको बताए । उनले गएको शुक्रबार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामुहिक रुपमा कुटपिट गरेको भिडियो आफुसँग रहेको समेत दावी गरेकी छिन् ।
“प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले म संग पटक पटक गरि १५ लाख रुपैया बैग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लिएको छ ” उनले भनिन् “अरुसँग ऋण लिएर सो रकम दिएको छु, थप रकम माग गर्दा दिन नसक्ने तथा लिएको ऋण तिर्नु पर्ने भन्दा लोग्नेले छोडेर अर्को बिहे गर्छु भन्छ ।”
किरण देवीले आफुमाथि अन्याय गर्नेलाइ कानुनी कारवाही हुनुपर्ने माग गरेकी छिन् । पीडकलाई कारवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिइएको उनले बताएकी छिन् ।






















