रोल्पाका दुई विकट गाउँमा बिजुली बल्यो


रोल्पा, माघ २२ । रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ । सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो । ३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका उप–महासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरेका हुन् । सो क्रममा उनले गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए । गाउँमा बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ छ ।
पुनले राजनीतिकर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरूले साधन श्रोतको समुचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने बताए । उनले विकासका काममा अति राजनीतिकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रिय स्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए ।
गाउँमा सडक, बिजुली, खानेपानी, सिँचाइको व्यवस्था गर्ने तथा शैक्षिक संस्थाको गुणस्तर सुधार गर्ने नेताहरूको जिम्मेवारी र कर्तव्य भएको उनको भनाइ थियो । पुनले आफू ऊर्जामन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरूमा विद्युतीकरण पुगेको बताए । बाँकी २० प्रतिशत घरहरूमा पनि आगामी डेढदेखि २ वर्षभित्र बिजुली पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए ।
नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले पनि रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए । एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकका दुई आयोजनामार्फत जिल्लाका सुनछहरी, लुंग्री, सुनिल स्मति, थवाङ, गंगादेव र परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाका विभिन्न वडाहरुमा विद्युतीकरणको प्रक्रिया अघि बढेको जानकारी उनले दिए ।
केही महिनाको बीचमा लुंग्री गाउँपालिकाको वडा नम्बर–१, रुण्टीगढी गाउँपालिकाको वडा नम्बर १ र ८, थवाङ गाउँपालिकाको वडा नम्बर–३, गंगादेव गाउँपालिकाको वडा नम्बर– १ र ३, माडी गाउँपालिकाको वडा नम्बर–१ र २, त्रिवेणी गाउँपाकिलाको वडा नम्बर– ६ मा बिजुली बालिएको जानकारी साहले दिए ।






















