धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भन्दै पत्र आएपछि बालेन आक्रोशित


काठमाडौं, माघ २२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहरामा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले आज भन्दा २ बर्ष ९ महिना अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन भएको धरहरा अझै पनि बनाएर नसकिएको भनेर महानगरलाई पार्किङ बन्द गर्न लेखेको पत्रप्रति आक्रोश व्यक्त गरेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन् ‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो–आज एक ऐतिहासिक काम सम्पन्न भएको छ । राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे । तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नू !’
उनले पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री ओलिले ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुने बताएका छन् । तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन गर्ने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउन पनि जोड दिएका छन् ।
‘संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृत्तिलाई निरूत्साहित गरौं,’ उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।’
उनले धरहरामा पार्किङ बन्द नभएको र महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन भइरहेको जानकारी दिएका छन् । ‘अझै व्यवस्थापन गर्दै लैजाने छौं । अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ ।’ उनले भनेका छन्, ‘हामी काठमाडौं महानगरमा रहुञ्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिनेछैनौं ।’























