अपराध

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

जगत ठाडा मगर
२०८० माघ २१ | मध्यान्ह १२:१० बजे

नवलपरासी, माघ २१ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- १ बरुवामा रहेको न्यु धवलागिरी सुनचाँदी पसलका संचालक गजेन्द्र सुनारमाथि गोली प्रहार भएको छ ।

बर्दघाट नगरपालिका–४ घर भएका सुनचाँदी व्यवसायी ६२ वर्षिय विश्वकर्मामाथि शनिबार साँझ बरुवास्थित पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ कुकुरमारा नजिकै अज्ञात समूहले एक राउण्ड गोली प्रहार गरेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बोहराका अनुसार अज्ञात समुहले विश्वकर्मामाथि धारिलो हतियारसमेत प्रहार गरेका थिए । उनको पाखुरामा गोली लागेको छ र देब्रे हातको केही भाग काटिएको छ । विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।

कमेन्टहरु