मौसम

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

जगत ठाडा मगर
२०८० माघ १७ | बिहान ०७:१० बजे

काठमाडौँ, माघ १७ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू,  लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्टहरु