अपराध

विदेशी बैंकमा करोडौं रकम राखेको पाइएपछि पौडेलद्वय पक्राउ

नवलपुर टुडे
२०८० माघ ११ | बिहान ०७:१० बजे

काठमाडौं । शक्ति र सत्ताको दुरुपयोग गरी आर्जन गरेको अकुत सम्पत्ति विदेशका विभिन्न बैंकमा लगेर जम्मा गरेको पाइएपछि नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा छानबिनमा रहेका पौडेलद्वयले विदेशका विभिन्न बैंकमा पैसा जम्मा गरेको र अझै सो क्रम जारी राखेको पाइएपछि अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

पौडेलद्वय पदमा रहँदा शक्ति र सत्ताको निकट रहेर काम गर्दै आइरहेका थिए। उनीहरू जुनसुकै सरकार आए पनि सरकार सञ्चालन गर्ने प्रमुख व्यक्तिहरूको निकट रहेर काम गर्न सफल हुँदै आएका थिए।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धमा आयोगबाट अनुसन्धान भइरहेका उनीहरूले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको पाइएपछि पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो।

अख्तियारका अनुसार पौडेलद्वयले नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको समेत फेला परेको छ।

यसै गरी विकल पौडेलको हकमा संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएकाले उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जान सक्ने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले पक्राउ पुर्जी दिई हिरासतमा राखिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।

अख्तियारका अनुसार गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदासमेत उनीहरूले आउन आलटाल गर्दै आएका थिए।

‘अकुत सम्पत्ति छानबिनमा बोलाउँदा उनीहरूले आलटाल गर्दै आइरहेका थिए, उनीहरू ठूलो परिमाणको रकम लिएर विदेश जान लागेको सूचना आएपछि पक्राउ गरिएको हो’ –अख्तियारस्रोतले भन्यो।

दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरूमाथि गैरकानुनी सम्पत्ति आर्जनको उजुरी समेत परेको थियो।

पटकपटक बोलाउँदा नआएपछि उनीहरूमाथि निगरानी बढाइएको र यस क्रममा बुधबार पक्राउ गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो । आयोगले दुवै जनालाई आज बिहीबार विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

पक्राउ परेका दुवै जनालाई अख्तियारले यसअघि नै नेसनल पेमेन्ट गेटवे खरिद प्रक्रियामा करोडौं रुपियाँ अनियमितता गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक रहेका सुनील पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहेको बेला नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड अनियमितता गरेको ठहरसहित सो बराबरको विगो दाबी गर्दै पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यसै गरी अख्तियारले सोही प्रकरणमा केन्द्रका कार्यकारी निर्देशक रहेका विकल पौडेललगायत ९ जनाले ७० करोड अनियमितता गरेको ठहरसहित उनीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

कमेन्टहरु