राष्ट्रिय सभाको निर्वाचन आज, बिहान ९ बजेबाट मतदान सुरु हुने


काठमाडौ, माघ ११ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज (बिहीबार) हुँदैछ । रिक्त हुन लागेको १९ पदका लागि आज निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार छन् । प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता हुन् । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ ।
निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ । कोशीमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन्। यस्तै, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो । एक पद भने राष्ट्रपतिबाट मनोनीत गरिने छ ।























