आजको मौसम : पहाडी भूभागमा सफा, तराईमा हुस्सु र कुहिरो

जगत ठाडा मगर
२०८० माघ ७ | बिहान ०७:१० बजे

काठमाडौँ, माघ ७ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।
भोलि सोमबार पनि देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।























