आजको मौसम : हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

जगत ठाडा मगर
२०८० पुस २२ | बिहान ०६:०९ बजे

काठमाडौँ, पुस २२ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।























