आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनैपर्छ : रवि लामिछाने


काठमाडौँ, पुस २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका छन् ।
शुक्रबार सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोलीबाट एक युवाको ज्यान गएको विषयलाई लिएर लामिछानेले विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनुपर्ने बताएका छन् ।
ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको लामिछानेले उल्लेख गरेका छन् ।
उनले भनेका छन्– ‘लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनै पर्छ । यस दुःखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त कारबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथि सम्मका सबैलाई जबाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’























