बालकुमारी घटनामा मृत्यु भएका वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै


काठमाडौँ, पुस १७ । बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ । गृह जिल्लामा पठाउन उनीहरूको शव विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
दुवै जनाको शव पाटन अस्पतालमा पोस्टमार्टम गरेपछि विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको एसपी कार्कीले जानकारी दिए । नेपाली सेनका स्काई ट्रक एन ए–०६४ मार्फत दुवै जनाको शव सुर्खेत लैजाने तयारी गरिएको छ ।
सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ । गत पुस १३ गते रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने भन्दै प्रदर्शन गर्ने क्रममा गम्भीर घाइते भएका दुवैको ज्यान गएको थियो ।
सुजन रावतको छातीमा निलडाम देखिएको थियो । उनलाई गोली नलागेको तर, भाग दौडमा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताउँछन् । यस्तै अछामका वीरेन्द्र शाहको पेटमा लागेको थियो । उनलाई प्रहरीले हानेको सेल्फ लोडिङ् राइफल (एसएलआर) को गोली लागेको पुष्टि भएको छ ।






















