मुख्य समाचार

बालकुमारी घटना : सरकार र मृतकका परिवारबिच चार बुँदे सहमति

जगत ठाडा मगर
२०८० पुस १६ | मध्यान्ह ०६:०९ बजे

काठमाडौँ, पुस १६ । बालकुमारी घटनामा ज्यान गुमाएका युवकहरुको परिवार र सरकारबिच ४ बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका हुन् । 

४ बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ । यस्तै दोस्रो बुँदामा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने उल्लेख छ । 

तेस्रो बुँदामा मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमति उल्लेख छ भने चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ ।

सहमतिपत्रमा मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने उल्लेख छ ।

गत पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने  मृतकका परिवारलाई दश/दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ । 

अझै परिवारले शव बुझ्न नमानेपछि सरकारले मृतकका परिवारसँग आज थप सहमति गरेको हो ।

कमेन्टहरु