बालकुमारी घटना : पक्राउ गरिएका ७३ जनालाई छाडिँदै, मुद्दा नचलाइने


काठमाडौं, पुस १४ । बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
उनीहरूलाई शनिबारै छाडिनेछ । पक्राउ गरिएका ७३ जनामाथि कुनै मुद्दा नचलाउने निर्णय गरिएको प्रहरी स्रोतले जनायो । रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेको थियो । उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरेका थिए ।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।मृतकको शव पाटन अस्पतालमा राखिएको छ । दुवै शव आफन्तले बुझ्न बाँकी छ ।
प्रहरीको गोली लागेर मारिएका वीरेन्द्र शाहका बुवासहित केही पीडित आफन्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटारतर्फ लागेका छन् ।























