बालकुमारी घटनामा ज्यान गुमाएका सुजन र वीरेन्द्रको परिवारलाई सरकारले १०/१० लाख दिने


काठमाडौं, पुस १४ । बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित विद्यार्थीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक उमेश जोशी र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ ।























