मुख्य समाचार

घरबाट बजार जान्छु भनेर निस्केका केसी पाँच दिनपछि कोइलाखानीको सुरूङमा मृत फेला

जगत ठाडा मगर
२०८० पुस १४ | बिहान १०:०९ बजे

दाङ, पुस १४ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङ भित्र एक पुरुषको शव फेला परेको छ ।

बंगलाचुली गाउँपालिका–४ स्थित गदारी फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र घोराही उपमहानगरपालिका–६ अघराका ४५ शिवराज केसीको शव फेला परेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

एसपी केसीले अनुसार मृतकको छाती लगायत शरीरका अन्य भागमा घाउ खतहरु देखिएकाले उनको हत्या गरी सुरुङ भित्र शव लुकाइएको हुनसक्ने आशंका गरिएको छ । अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसी गत पुस ८ गते घोराही बजार जान्छु भनेर घरबाट निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस दिनदेखि केसी सम्पर्कविहीन भएपछि परिवार र आफन्तले उनको खोजीकार्यका लागि प्रहरीमा निवेदन दिएको थियो । केसीको मोवाइलको लोकेसनका आधारमा खोजीकार्य गर्दा बंगलाचुली क्षेत्रमा उनको शव भेटिएको हो । कोइला खानी सुरुङको करिव ५० मिटर भित्र शव फेला परेको एसपी केसीले जानकारी दिए ।

उनको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ गदारीका शेरबहादुर कुँवर र उनकै श्रीमती दीपालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

मृतक केसीको शव पोष्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु