सानो भेरी किनारको भीरमा भेटिएका दुई जनामध्ये एक बालकको मृत्यु


बुटवल, पुस १४ । रुकुम पश्चिमको सानो भेरी किनारको भीरमा भेटिएका दुई जनामध्ये एक बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका – २ पिपलका १३ वर्षीय सुभाष विकको मृत्यु भएको हो ।
सोही ठाउँका १८ वर्षीय डिलु विक र सुभाषलाई बाफिकोट – ४ छिनखेतस्थित सानो भेरी नदीको किरानको भीरमा अचेत अवस्थामा फेला पारी उद्धार गरेर अस्पताल पुर्याइएको थियो । जिल्ला अस्पताल सल्लेमा सुभाषको शुक्रबार दिउँसो साढे १ बजेतिर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
डिलुलाई भने उपचारपछि घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । प्रहरी नियन्त्रणमा रहेका डिलुले आँफूहरुले मदिरा सेवन गरी फर्किने क्रममा बाटो बिराएपछि सोही भीरमा बसेको बयान दिएका छन् ।
चिसोले कठ्याङ्ग्रीएर सुभाषको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर, पोष्टमर्टम पछि मृत्युको कारण पत्ता लाग्ने प्रहरी निरीक्षक खड्काले बताए ।























