Opens in a new tab

समाचार

तनहुँमा दुई मोटर गुड्ने पुल निर्माण : चार हजार बढी घरधुरी लाभान्वित

रासस
२०८० पुस १३ | बिहान ०६:०९ बजे
फाइल तस्बिर

तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो । ती पुल निर्माणपश्चात् चार हजार एक सय ४० घरधुरीका १६ हजार दुई सय १० जना प्रत्यक्ष लाभान्वित हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट एक हजार पाँच सय घरधुरीका पाँच हजार नौ सय ६६ जना मानिस लाभान्वित हुने थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उक्त पुलको मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रु एक करोड ४१ लाख ५८ हजार नौ सय ९० रहेकामा निर्माण सम्पन्नपछि रु एक करोड ३२ लाख ३२ हजार नौ सय १४ भुक्तानी गरिएको छ ।

विसं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एन्ड बिल्डर्स पर्वतले पुल निर्माण कार्यको ठेक्का पाएको थियो ।

त्यसैगरी, बुल्दीखोलामा निर्माण गरिएको पुलबाट दुई हजार छ सय ४० घरधुरीका १० हजार दुई सय ४३ जना लाभान्वित भएको बागेश्वरी मार्ग उपभोक्ता समितिले जनाएको छ । उक्त पुल भ्याटबाहेक रु तीन करोड १२ लाख ४६ हजार छ सय १३ को लागतमा निर्माण सम्पन्न भएको हो । विसं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ वैशाख ४ गते सम्पन्न गर्ने गरी माई–डिएस जेभीले ठेक्का लिएकामा लक्ष्य अगावै सम्पन्न गरेको हो ।

स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए । पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएपछि स्थानीयवासी खुशी भएका छन् ।

पुलको निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीलाई अन्तिम भुक्तानी दिने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

कमेन्टहरु