मुख्य समाचार

सन्दीप लामिछानेको मुद्दा भोलि टुङ्ग्याउने तयारी

नवलपुर टुडे
२०८० पुस १२ | मध्यान्ह ०४:०९ बजे

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुधबार वादी पक्षको सकिएकोमा आज प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए । पहिलो दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधवार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे।

बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका थिए।  बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए ।  प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ भोलि नै टुङ्ग्याउने तयारी गरिएको छ ।

कमेन्टहरु