धरौटी बुझाएपछि शरणार्थी नेता रिजाल रिहा

रासस


काठमाडौँ, पुस १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् । उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर आज रिहा भएका हुन् ।
उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि आज रिहा भएका उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए ।
रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुपर्यो । गत मङ्सिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो ।
काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण आज मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भएका छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन् । उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागार नै छन् ।

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
अरुपनि पढ्नुहोस
सबै
एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
















