मुख्य समाचार

पूर्वी नवलपरासीको चोरमारा आइपुग्यो रास्वपाको दबाब यात्रा

जगत ठाडा मगर
२०८० पुस १० | मध्यान्ह ०१:०९ बजे

बुटवल, पुस १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब यात्रा दोस्रो दिन पूर्वी नवलपरासीको चोरमारा आइपुगेको छ । नारायणघाट–बुटवल सडकखण्डको स्तरोन्नतिका लागि दबाब दिने उद्देश्यले रास्वपाले सुरू गरेको पदयात्रा मंगलबार मध्याह्न चोरमारा पुगेको हो ।

photo 2023 12 26 13 45 02

आज दाउन्नेसम्मको यात्रा गर्ने तयारी रहेको र करिब ५५ किलोमिटर यात्रा पूरा भएको रास्वपाले बताएको छ । बुटवलसम्मको ११३ किलोमिटर यात्रा पैदलै गर्ने रास्वपाको लक्ष्य छ । पदयात्रामा पार्टी सभापति रवि लामिछाने, सांसदहरू मनिष झा, गणेश पराजुली, निशा डाँगीलगायत सहभागी छन् ।

photo 2023 12 26 13 45 06

पदयात्राका क्रममा स्थानीयले सडक समयमै नबन्दा छारोधुलो खानुपरेको, व्यापार व्यवसाय चौपट भएको र विस्थापित हुनुपरेको पीडा सुनाएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले बताए ।

photo 2023 12 26 13 45 04

२४ माघ २०७५ मा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनबीच ४२ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार अघिल्लो साउन २२ भित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । एक वर्ष म्याद थप गर्दा पनि साढे २० प्रतिशत पनि काम पूरा भएको छैन ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको आयोजनाले जनाएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । 

एसियाली विकास बैंकको ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानीमा काम हुने आयोजनाले जनाएको छ । बैंकले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

कमेन्टहरु