नारायणगढ–मुग्लिन सडक बन्द हुने समय तालिका परिवर्तन


चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।
भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार चितवन र तनहुँतर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिनेछ ।
यसैगरी पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिनेछ ।
सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनःएकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो ।
राजधानी काठमाडौँबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोे प्रयोग गर्न अनुरोध गरेको हो ।






















