सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश


काठमाडौं, मंसिर २९ । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।
शुक्रबार न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म महानगरले मंसिर १२ गते जारी गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी बिक्री वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनापछि महानगरपालिकालाई विपक्षी बनाएर श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
इजलासले निवेदकहरुले रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व समेत नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ एवं काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकहरुको बिक्री वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुने ठहर गरेको छ ।

























