मुख्य समाचार

गोरखामा फेला परेको अजिंगर चितवनमा ल्याएर छोडियो

नवलपुर टुडे
२०८० साउन २८ | बिहान ०९:०४ बजे
गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिंगर। तस्बिर: दीपक श्रेष्ठ/रासस

गोरखा, साउन २८ । गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेकोअजिंगर आज चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ ।

सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो । फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले जानकारी दिए ।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको मोटरेबल पुल नजिकै शुक्रबार गोरखा तर्फको कच्ची सडकमा अजिंगर फेला परेको थियो । तीनवटा घिस्रने जनावर मध्येमा उद्धार गरिएकोअजिंगर एक प्रजातिको भएको  वनअधिकृत गोपालीले बताए। अजिंगर संरक्षित प्रजतिको घस्रने जनावरअन्तर्गत हो । 

अजिङ्गरलाई उद्धार गरी गएराति भने सब–डिभिजन कार्यालय सिउरेनीटारमा नै राखिएको थियो । फेला परेकोअजिंगर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको उनले बताए ।

वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेकोअजिंगरको उद्धार गरेका हुन् । स्थानीयवासीले पहिलो पटक आफूले त्यस क्षेत्रमा अजिंगर फेला परेको बताएका छन् । रासस

कमेन्टहरु