मुख्य समाचार

१२औँ विश्व हात्ती दिवसको अवसरमा सौराहामा हात्तीलाई वनभोज

नवलपुर टुडे
२०८० साउन २७ | मध्यान्ह ०३:०४ बजे

चितवन, साउन २७ । चितवनको सौराहामा आज विश्व हात्ती दिवसको अवसर पारेर हात्तीलाई वनभोज खुवाइएको छ । १२औँ विश्व हात्ती दिवसको अवसरमा पारेर यहाँ पालिएका ६५ वटा सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाको आयोजनामा हात्तीलाई लस्करै राखेर खिर, केक सहित वनभोज खुवाइएको वनभोज कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । वनभोजमा चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी लगायत खुवाइएको उनले बताए ।

कार्यक्रममा चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले नेपालमा हात्तीको अवस्था, महत्त्व, रहनसहन र स्याहार सुसारको विषयमा जानकारी गराएका थिए । सरकारले निजी स्तरमा पालेको हात्तीहरूको विवरण संकलन गरिरहेको भन्दै नेपालमा १ सय ५० वटा हात्ती निजी स्तरमा पालेका हात्ती रहेको उनले जानकारी दिए ।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् ।

कमेन्टहरु