देशभर सीआईबीको अप्रेशन ‘फक्सट्रोट चार्ली’ : पक्राउ पर्ने डाक्टरको संख्या ८ पुग्यो

नवलपुर टुडे
२०८० साउन २६ | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ, साउन २६ । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा थप एक जना डाक्टर पक्राउ परेका छन् । शुक्रबार अप्रेशन ‘फक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा.पुनम थापालाई पक्राउ गरेको हो ।
थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार डा. पुनम थापा सुमेरू सिटी हस्पिटलकी डाक्टर हुन् ।
यससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि सांसद डा.सुनील शर्मासहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पक्राउ परेका हुन् ।
सिआइबीले बिहीबारदेखि ‘फक्सट्रोट चार्ली’ अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको छ ।






















