सुन काण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन : मन्त्री शर्मा


काठमाडौं, साउन १८ । सरकारले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको बताइन् ।
उनले सरकार यस घटनाको जरासम्म पुग्न लागेकाले उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले नदेखेको बताइन् । प्रवक्ता शर्माले सरकारकै अग्रसरतामा सुन बरामद गरिएको भन्दै विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरिन् । राज्यको एउटा निकायले छानबिन गरिरहेकै अवस्थामा अर्को समिति बनाउँदा छानबिन प्रभावित हुन सक्ने उनको भनाइ छ ।
त्यस्तै सोही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सङ्घीय संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको उल्लेख गर्दै उनले छिट्टै सदनमा देखिएको अवरोध हट्नेमा विश्वास व्यक्त गरिन्।






















