अदालतले हिरासतमा राख्न नपर्ने भनेपछि छुटिन् अधिवक्ता भगवती पाण्डे


काठमाडौं, साउन १८ । जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई प्रहरीले छाडेको छ । काठमाडौं जिल्ला अदालतले अधिवक्ता पाण्डेमाथि अनुसन्धान गर्न प्रहरी हिरासतमा राख्न नपर्ने भनेपछि उनलाई हिजो राती नै छाडेको हो ।
प्रहरीले पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुंगेलले जानकारी दिए । एसपी ढुंगेलका अनुसार पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा भने चल्नेछ । उनी हिरासत बाहिरै बसेर मुद्दा लड्नेछिन् ।
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह चल्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि साउन १२ गते जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
त्यसपछि फरार रहेकी उनी बुधबार पक्राउ परेकी थिइन् ।























