नौ महिनापछि रिहा भए लालबहादुर बिक


इटहरी, साउन १७ । मालिकको बदमासीका कारण बैंकिङ कसुर र ठगी मुद्दामा दोषी ठहर भई जेल परेका इटहरी उपमहानगरपालिका– १९ वरमपुर फुलबारी टोलका लालबहादुर विश्वकर्मा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीको आदेशमा करिब नौ महिना झुम्का कारागारमा रहेका विक बुधबार दिउँसो कारागारबाट मुक्त भएका हुन् ।
लालबहादुरलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतको तत्कालीन न्यायाधीश निर्मला योङ्याको २०७८ पुस १९ को आदेशलाई उल्टाउँदै मंगलबार अवैध वित्तीय कारोबार सञ्चालन र ठगी मुद्दामा सफाई दिँदै थुनामुक्त गर्ने आदेश दिएको थियो ।
मंगलबार अदालतको पत्र कार्यालय समयमा नपुग्दा उनी बुधबार छुट्ने हल्ला सर्वत्र फैलिएको थियो । लालबहादुरका परिवारका सदस्य बिहान १० बजेतिरै कारागार पुगेका थिए । त्यसपछि अन्य मानिस जम्मा हुनेक्रम बढ्यो ।
नौ महिनाअघि जिल्ला अदालतले लालबहादुरलाई बैंकिङ कारोबार मुद्दामा तीन करोड १४ लाख बिगो, ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना जेल सजाय सुनाएको थियो ।























