मुख्य समाचार

पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भयो : स्वास्थ्यमन्त्री बस्नेत

नवलपुर टुडे
२०८० साउन १५ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं, साउन १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।

दोश्रो आधारभूत जीवनरक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले आफूले मन्त्रालयमा काम सुरु गरेपछि धेरै सुधारका काम भएको भन्दै पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन् ।

मन्त्री बस्नेतले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले पछि देशभरिका १६ वटै संघीय अस्पतालहरूका तीन हजार ५२३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउँदै सम्पूर्ण निजी अस्पतालहरूले पनि १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानुनी प्रवधानलाई कडाईका साथ लागु गराएको बताए ।

दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्नसक्ने आधारस्तम्भ तयार पार्न लागि परेको मन्त्री बस्नेतको भनाई छ ।

उनले सानोतिनो रोगको उपचारका लागि भीआईभी र भीभीआईपीहरू विदेश जाने र करोडौँ राज्यकोषको खर्च हुने गरेको भन्दै भीआईपी र भीभीआईपीका लागि पनि वीर अस्पतालमा पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टिम बनाइदिएको जानकारी दिए ।

कमेन्टहरु