भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नवलपुर टुडे
२०८० जेष्ठ ४ | मध्यान्ह ०६:०२ बजे

काठमाडौं, जेठ ४ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि रिजाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
सो प्रकरणमा रिजालको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसँग रिजालको आर्थिक लेनदेन देखिन्छ । यसअघि यहीँ प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।
पछिल्लो समय रिजाल झापामा बस्दै आएका रिजाल लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए । आजै यो प्रकरणमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेका संख्या १६ पुगेको छ ।























