प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशप्रति माओवादीको आपत्ति


काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न दिएकाे आदेशप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएकाे छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएकाे जनाएको हाे ।
जनयुद्ध, ६२/६३ काे आन्दाेलन र त्यसकाे जगमा भएकाे बृहत शान्ति सम्झाैता लगायतका विरुद्धमा हुने कुनै पनि गतिविधिलाई माओवादीले अस्वीकार गर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘१० वर्षे महान जनयुद्ध, २०६२/६३ को दोस्राे जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको बृहत शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्राे पटक सम्पन्न संविधानसभाको निर्वाचन तथा संविधानसभाबाट निर्मित संघियता, धर्मरिपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचनासहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धीहरू विरुद्ध हुने कुनै पनि गतिविधिलाई यस दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अस्वीकार गर्दछ । त्यस्तो कार्यप्रति घोर भर्त्सना गर्दछ’ विज्ञप्तिमा भनिएकाे छ ।






















