खेलकुद

धरानलाई हराउँदै बागमती क्वार्टरफाइनलमा 

नवलपुर टुडे
२०७९ माघ २९ | बिहान ०७:१० बजे

काठमाडौ । आयोजक बागमती युवा क्लब जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न खेलमा धरान फुटबल क्लबलाई आयोजक बागमती युवा क्लब सर्लाहीले ५–१ ले पराजित गरेकोे हो । बागमतीले क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबसँगको भेट पक्का गरेको छ । खेलको सुरुदेखि नै आयोजक बागमती धरानमाथि हावी देखिएको थियो । लगातार दबाबमा राखेको बागमतीले धरानलाई अवसर बनाउनसमेत दिएन ।

खेलको सुरुवाती मिनेटमै आकर्षक अवसर बनाएको बागमतीले सशक्त प्रहार गर्न भने चुक्यो । निकै आक्रामक खेल प्रस्तुत गरेको बागमतीका लागि खेलको १३औँ मिनेटमा विमल घिसिङले पहिलो गोल गरे । सृजन गौतमको पासमा घिसिङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि बागमती थप आक्रामक बनेको थियो ।

खेलको ४१औँ र ४३औँ मिनेटमा बागमतीका सृजन गौतमले लगातार व्यक्तिगत दुई गोल गरे । सृजनले धरानको रक्षापंक्ति र गोलकिपरलाई बिट गर्दै पहिलो गोल गरे । लगत्तै विमल घिसिङको पासमा सृजनले दोस्रो गोल गरे । बागमती पहिलो हाफमा ३–० को अवस्थामा पुगेको थियो । ५७औँ मिनेटमा बागमतीका सृजनको क्रसलाई धरानका खेलाडीले आफ्नै पोस्टमा छिराएका थिए ।

६१औँ मिनेटमा पेनाल्टीमार्फत धरानका दोर्जे तामाङले सान्त्वना गोल फर्काए पनि हार भने टार्न सकेनन् । बक्सभित्र बागमतीका खेलाडीले गलत फाउल गरेपछि धरानले पेनाल्टी पाएको थियो । ८१औँ मिनेटमा बागमतीका अनिल रानामगरको पासमा दिपेश चाम्लिङ राईले पाँचौँ गोल गरेका थिए ।

दुई गोल गरेका सृजन खेलको म्यान अफ दी म्याच घोषित हुँदै १० हजार पुरस्कार प्राप्त गरे । आइतबारको पहिलो क्वार्टरफाइनल खेलमा साबिक विजेता पिप्ले युवा क्लब हेटौँडा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्टहरु