मुख्य समाचार

बैंक खाताको विवरण सार्वजनिक भएकोमा प्रेम आचार्यकी श्रीमती नानुकाको आपत्ति

नवलपुर टुडे
२०७९ माघ १९ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ १९ । आत्मदह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन् । बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ । गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् ।

“मेरो श्रीमानले मलाई पैसा आओस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु । तर, सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेज र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ,” उनले भनिन्, “मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रूपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोगस्वरूप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।”

उनले आफ्नो गोपनीयता भंग गर्ने बैंक र कर्मचारीविरुद्ध काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् । सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिन सटहरू पोस्ट भइरहेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको विषयमा आफू जानकार भएको उनले बताइन् । “हिजो (बुधबार) सांसदहरूले उठाउनुभएको विषयमा थोरै जानकार छु । सांसद मोहन बस्नेतले काठमाडौंमा केही समयअघि रोजगारी र नानीहरूको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो,” उनले भनिन् । सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ ।

इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन् । उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिका रूपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराएकी थिइन् । सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ ।

श्रीमान् प्रेमप्रसाद आचार्यको माग पूरा गराउन दाहसंस्कारको काम सकिनेबित्तिकै काठमाडौं आउने उनले बताइन् । उनले भनिन्, “उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु । उहाँलाई सहिद घोषणा गर्न माग पनि गरेकी छु ।” रासस

कमेन्टहरु