प्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार जाँदै ओली, माधव नेपाललाई पनि बोलाइयो


काठमाडौं, पुस १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार जान लागेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन् ।
खुमलटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि डाकिएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान ललितपुरको हात्तिवनमा अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले बताए । ‘उहाँले वर्तमान समीकरण र सरकारबारे मेरो धारणा माग गर्नुभयो । मैले यो सरकारलाई नकरात्मक दृष्टिकोणले हेर्नुपर्ने कुनै कारण नरहेको बताएँ,’ उनले भने ।
अध्यक्ष नेपालले सरकारलाई हेर्ने नजर नकरात्मक नभएको बताएपछि प्रचण्डले समर्थनका लागि ढिलाइ नगर्न आग्रह गरेका थिए । ‘सरकारलाई हेर्ने नजर सकारात्मक हो भने मलाईं समर्थन गर्नुस् ।’ प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग भने ‘हतारमा मैले तपाईंलाई खबर गर्न सकिनँ यसलाई मनमा नलिनुस् ।’
भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएको स्विकारेका थिए ।






















