मुख्य समाचार

भियतनामबाट आएको चार्टर विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

नवलपुर टुडे
२०७९ साउन ११ | मध्यान्ह ०३:०४ बजे

बुटवल, साउन ११ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट आएको चार्टर विमान अवतरण गरेको छ । विमानस्थल व्यवसायिक रूपमा सञ्चालनमा आएको दुई महिनापछि आज पहिलो चार्टर विमान अवतरण गरेको हो । विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवामा अवतरण गरेको हो ।

बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाज मौसमले साथ नदिएका कारण गौतम बुद्ध विमान स्थलमा अवतरण गरेको विमानस्थल प्रमुख गोविन्द दाहालले जानकारी दिए । व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडौंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको उनले बताए ।

१२ सिटे एचएआई ४९९ कलसाइनको यो विमान १ अगस्टमा भैरहवाबाट काठमाडौं जाने छ । विमानमा दुई सेट प्राविधिक छन् । काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका छ । उक्त जहाज फर्कँदा काठमाडौँबाट विशेष व्यक्तिहरू लिएर जाने तयारीमा रहेको विमानस्थल प्रमुख दाहालको भनाई छ ।

गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै भैरहवा विमानस्थलबाट अहिले जजिरा एयरवेजले मात्रै साताको तीन उडान भरिरहेको छ । अन्य एयर कम्पनीहरूले चासो देखाए पनि उडान भने सुरु गर्न सकेका छैनन् ।

कमेन्टहरु